बाजुरा–हल गोरु पाल्ने बाजुराका १ सय ५६ जना कृषकले प्रोत्साहन स्वरुप पाँच हजार पाएका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअनुसार छनौट भएका हल गोरु पालन गर्ने प्रतिकृषक पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।

प्रोत्साहन स्वरुप रकम पाउने कृषकहरुमा स्वामीकार्तिक खापर गाउँपालिकामा ३७, बडीमालिका नगरपालिकामा ३३, गौमुलमा ३२, बुढीनन्दा नगरपालिकामा १४, खप्तड छेडेदहमा १४, जगन्नाथमा ११, हिमाली गाउँपालिकामा ७, त्रिवेणीमा ४ र बुढीगंगा नगरपालिकामा ३ जना छन् ।

पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्न थालेपछि हल गोरु पालनतर्फ कृषकहरुलाई आकर्षित गर्न प्रोत्साहन रकम उपलब्ध गराइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जैशीले बताए । उक्त कार्यक्रमका लागि जिल्लाका ९ वटै स्थानीय तहबाट ४ सय जनाले आवेदन दिएकोमा आवश्यक कागजात जाँच गरी दुई सय जनालाई छनौट गरिएको थियो । तर असार २५ गतेसम्म १ सय ५६ जना कृषकको मात्रै निवेदन आएपछि प्रतिकृषक पाँच हजारका दरले रकम सम्बन्धित व्यक्तिको बैंक खातामा भुक्तानी गरिएको प्रमुख जैशीले जानकारी दिए ।
“घरमा एक हल गोरु पालन गरी परम्परागत कृषि प्रणालीअनुसार खेती गरिरहेका र जिल्लाका विकट स्थानीय तहलाई प्राथमिकता दिएर सोही बमोजिम छनौट गरेर रकम उपलब्ध गराएका छौं, भेटेरीनरी अस्पताल प्रमुख जैशीले भने, दुर्गम गाउँका सहजै सदरमुकाम आउन नसक्नेलाई सम्बन्धित पालिकामा कागजात बुझाउने व्यवस्था समेत गरेका थियौ ।”
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले हल गोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रमका लागि बाजुरामा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।






