बाजुरा–शनिवार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन प्रभावित भएको छ । लगातारको अविरल वर्षापछि सडक र विद्युत अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो ।
पहिरोले शनिवार रातिदेखि जिल्लाभर विद्युत र सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध छ ।
लगातारको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट ठुलो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुई दिनदेखि सडकखण्ड अवरुद्ध हुँदा सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु रोकिएपछि यातायात ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटकाअनुसार अवरुद्ध सडकखण्ड सुचारु गर्न आइतबार नै जेसीबी प्रयोग गरेर पहिरो पन्छ्याउने काम सुरु गरिएको थियो । तर दिउँसोबाट पुनः भारी वर्षा सुरु भएपछि रोकिएकोमा आज बिहानबाटै सडक विभागका एउटा जेसीबी र एउटा स्काभेटर लगाएर सडक खोल्ने कार्य भइरहेको सूचना अधिकारी भाटले बताए ।
जिल्लाभर विद्युत आपूर्ति बन्द
शनिवार राति अविरल वर्षापछि पहिरोले ३२ वटा खम्बा ढलेपछि बाजुरा जिल्लाभर राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका– ९ सुवाकाँध र ६ को वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ खम्बा ढलेपछि विद्युत आपूर्ति बन्द भएको हो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराकाअनुसार सुवाकाँधमा सडकमाथिबाट ठुलो पहिरो खस्दा ७ र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन् । शनिवार राति करिब ९ बजे जिल्लाभर विद्युत सेवा बन्द भएको थियो । अवरुद्ध विद्युत सेवा मर्मतका लागि हिजोदेखि नै प्राविधिकहरुको टोली त्यस क्षेत्रमा खटिएको कार्यालयले जनाएको छ । अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ के.भी. राष्ट्रिय प्रशारण लाइनको विद्युत सञ्चालनमा रहेको छ ।
विद्युत सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् भने सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहसँगै विद्युतबाट सञ्चालन हुने सम्पूर्ण कामकाज प्रभावित भएका छन् । अवरुद्ध विद्युत र सडक सुचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला प्रभावित क्षेत्रमा खटिनु भएको जनाएको छ । यस्तै, सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ र ९ का विभिन्न स्थानमा आइतबार पहिरो खस्दा दुई वटा घर, चार वटा गोठ, एक गाईगोठ तथा एक पक्की घरमा क्षति भने दुई वटा गोरु पुरिएर मरेका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले अवरुद्ध सडक सुचारु गर्न राप्काबाट सडक विभागका दुई वटा मेसिन लगाएर मर्मत कार्य भइरहेको बताएका छन् । अवरुद्ध विद्युत मर्मतका लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराबाट प्राविधिक तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मीहरुको टोली खटिएको छ भने वर्षातले समस्या नभए आजै साँझसम्म सडक र विद्युत सेवा सुचारु हुने सूचना अधिकारी पुडासैनीले बताए ।






