काठमाडाैं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ्न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने बताउनु भएको छ।
सभापति थापाले शुक्रबार कांग्रेसको गौरवशाली इतिहास भए पनि अब अतीतको महिमा गाएर बस्ने छुट कसैलाई नभएको स्पष्ट पार्नुभएकाे हाे । महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जालाई युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न उपयोग गरिने उहाँको भनाइ छ। कांग्रेसलाई किसानको आवाज उठाउने, उद्यमीको गुमेको अवसर फर्काउने र वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारको भरोसाको पार्टी बनाउने उहाँले बताउनुभयाे।

सभापति थापाले पार्टीको पुनः संरचना र नागरिकको विश्वास पुनः आर्जन भाषणबाट मात्र सम्भव नहुने उल्लेख गर्नुभएकाे छ। पार्टीका नेता तथा कार्यकर्तालाई आचरण र कार्यशैलीमा सुधार ल्याउन निर्देशन दिनुभयो। उहाँले कांग्रेसलाई समाजका सबै वर्ग र समुदायको साझा प्रतिनिधित्व गर्ने दलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।
सभापति थापाले १५ औं महाधिवेशनबाट प्राप्त म्यान्डेट मुलुक र जनताको हितमा उपयोग गरिने बताउनुभयो।






