काठमाडाैं । गोरखाको चुमनुब्री गाउँपालिकाको लोक्पा र चुम्लिङ क्षेत्रमा पहिरो खसेर थुनिएको बुढीगण्डकी नदी एक्कासी लेदोसहित बगेपछि ठूलो भौतिक क्षति भएको छ।
आइतबार बिहान आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा टोली उद्धार कार्यमा खटिएका हुन् । सिंहदरबारमा आइतबार विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले प्रभावित क्षेत्रमा सेनाको हेलिकाेप्टरमार्फत हवाई निरीक्षण भैरहेको बताउनुभएकाे छ। उहाँले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिनुभयो ।

प्रमुख उप्रेतीले मौसम अनुकुल नहुँदा तत्काल हेलिकाेप्टर अवतरण गर्न नसकेको बताउनुभएको छ । समयमै पूर्वसूचना प्राप्त भएकाले तल्लो तटीय क्षेत्रका बस्तीहरू तत्कालै खाली गराउन सकिएको र तल्लो क्षेत्रमा मानवीय क्षति नभएको उहाँले बताउनुभएको छ ।
बाँकी विवरण संकलनको काम भैरहेको हाे । बाढीको प्रभावलाई कम गर्न र मानवीय सम्भावित क्षति रोक्न सम्बन्धित निकायले सूचना प्रवाह, बस्ती खाली गराउने र उद्धार कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनाको हेलिकाेप्टरबाट ६ जनाको सकुशल उद्धार गरिएको हाे।
बाढीको बहाव घटेर अवस्था सामान्य नहुँदासम्म बूढीगण्डकी, त्रिशूली र नारायणी नदी आसपासका बासिन्दालाई आइतबार बेलुकासम्म नै उच्च शतर्कता अपनाउन अनुरोध गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले नदी थुनिएर क्रमिक रूपमा फुट्ने प्रक्रिया हुँदा बाढी विभिन्न चरणमा आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको हाे।
उपग्रहबाट प्राप्त प्रारम्भिक तस्बिरहरूमा हिमाल क्षेत्रमा पहिरो देखिएको छ। जसको यकिन विवरण आउन अझै केही समय लाग्नेछ । जोखिमको आँकलन अनुसार बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिनसम्म उच्च जोखिम र मुग्लिन भन्दा तल चितवनसम्म मध्यम जोखिम रहेको हाे ।
देवघाटमा जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले चितवन र नवलपरासी पूर्वका तटीय क्षेत्रमा पनि शतर्कता अपनाउन आग्रह गरिएको छ।






