काठमाडाैं । काठमाडाैं उपत्यकाका विभिन्न ६ ठाउँबाट आइतबारदेखि आगामी शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिन्डर पनि साट्न पाउने भएका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिन्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको हाे। संघका अनुसार बालाजुको नेपाल ग्यासको उद्योग, पेप्सिकोलाको सगर ग्यासको गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलको एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलङ्कीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले जुनसुकै सिलिन्डर साट्न पाउने भएका छन् ।

उपभोक्ताको जुनसुकै सिलिन्डर भए पनि बालाजुबाट नेपालसहित एचपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलाबाट सगर, सुकेधाराबाट बाबा र श्री ग्यास, सिफलबाट एभरेस्ट र सुगम, कलङ्कीबाट साईबाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यास पाउने भएका हुन् । तोकिएका यी ठाउँबाट फरक कम्पनीको सिलिन्डर साट्दा पनि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने संघले जनाएको छ ।
नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा बिहान साढे ९ बजेदेखि बेलुका ४ बजेसम्म साटेर ग्यास लिन सकिने भएको छ । बजारमा अहिले ५८ वटा ग्यास उद्योगका सिलिन्डर छन् । उपभोक्ताले ग्यास साट्दा आफ्नो पहिचान खुल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राख्नुपर्ने पनि संघले जनाएको हा।






