काठमाडौं । नेपाली सेनाले गाेरखाकाे बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट ४९ जनाको उद्धार गरेको छ ।
सेनाले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई सुरक्षित स्थानमा पुर्याइएको जनाएकाे हाे। ‘असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजद्वारा प्रभावित विभिन्न क्षेत्रहरूबाट हालसम्म जम्मा ४९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको जारी विज्ञप्तिमा भनिएको छ।’

जगतबाट गोरखासम्म ६ जना, फिलिमबाट हुल्चुकसम्म चार जना (शिशु-१ सहित), यारुबाट हुल्चुकसम्म १५ जना (बालक-२ र विदेशी नागरिक-१ सहित), हुल्चुकबाट फिलिमसम्म १ जना, नाम्रुङबाट फिलिमसम्म २ जना, न्याक्फेदीबाट न्याकडाँडासम्म ९ जना र पायुबाट सल्लेरी (नयाँबस्ती) सम्म १२ जनालाई उद्धार गरिएको हो ।
सेनाले अन्य सुरक्षा निकाय तथा सरोकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको जनाएको छ।






