काठमाडाैं। नेपालीहरूकाे महान पर्व बडा दशैं शुरु भएसँगै काठमाडाैंको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ।
काठमाडाैंमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम दशैं मनाउनका लागि गाउँ फर्कन थालेका हुन् । नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरु गाउँ फर्किने क्रम बढेको हो ।

नयाँबसपार्क सञ्चालन गरेको संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले यहि असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्र २ लाख सात हजार भन्दा बढी बाहिरिएको जानकारी दिनुभयो । दशैंका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।
यहि असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौंदीमा पृथ्वी राजमार्ग भासिएर गाडी आवागमन अवरुद्ध हुँदा समस्या भएको महासचिव गौतमले बताउनुभएकाे छ। महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र गाडीको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको हाे ।






