काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई सक्रियता, कार्यक्षमता र योजनाबद्ध कार्यशैलीमार्फत जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएकाे छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा साेमबार आयोजित कार्यक्रममा मनोनीत केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराउँदै अध्यक्ष ओलीले जिम्मेवारी प्राप्त गर्नु र त्यसलाई सफलतापूर्वक पूरा गर्नु फरक विषय भएको बताउनुभएकाे हाे। पार्टीमा लामो समय योगदान गरेको र नेतृत्वको विश्वास जितेको आधारमा जिम्मेवारी प्राप्त भए पनि अब कामको नतिजाबाट आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने उहाँको भनाइ छ।

अध्यक्ष ओलीले पार्टीका नीति, सिद्धान्त र निर्णयलाई कार्यकर्तामाझ प्रभावकारी रूपमा पुर्याउने क्षमता, सक्रियता, अनुशासन तथा नेतृत्वप्रतिको इमानदारीलाई जिम्मेवारी मूल्यांकनका आधारका रूपमा व्याख्या गर्नुभयाे । विगतको योगदानका आधारमा मात्रै मूल्यांकन नहुने भन्दै उनले नयाँ जिम्मेवारीअनुसार काम गर्न सक्ने क्षमता पनि देखाउनुपर्ने बताउनुभएकाे छ।
अध्यक्ष ओलीले सक्रियता मात्रै पर्याप्त नहुने उल्लेख गर्दै कार्यक्षमता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयाे । क्षमतावान् व्यक्तिले कम समयमा धेरै काम गर्न सक्ने उदाहरण दिँदै उहाँले श्रमको परिणाम प्रभावकारी बनाउन दक्षता र कार्ययोजना आवश्यक रहेको बताउनुभएकाे छ। अध्यक्ष ओलीले काम गर्दा स्पष्ट योजना बनाएर प्राथमिकताका आधारमा अघि बढ्नुपर्नेमा जाेड दिनुभयाे ।
अध्यक्ष ओलीले एकैपटक धेरै काममा हात हाल्ने तर कुनै पनि काम पूरा नगर्ने प्रवृत्तिले अपेक्षित परिणाम दिन नसक्ने उल्लेख गर्नुभएकाे छ। उहाँले व्यवस्थित र योजनाबद्ध ढङ्गले काम गर्न नवनियुक्त सदस्यहरूलाई निर्देशन दिनुभयाे। नीति निर्माण, निर्णय र योजना बनाउँदा गलत बाटो रोज्न नहुने बताउँदै उहाँले समस्या उत्पन्न भए त्यसलाई थप जटिल बनाउनुको सट्टा समाधानतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभएकाे छ।
अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक परिस्थिति जटिल रहेको उल्लेख गर्दै एमालेविरुद्ध घेराबन्दी जारी रहेको समेत बताउनुभयाे।






