एजेन्सी। युरोपेली युनियन (ईयू) ले रुसको सैन्य-औद्योगिक क्षेत्रमाथि दबाब बढाउन करिब १ हजार ६ सय नयाँ व्यक्ति तथा संस्थालाई प्रतिबन्ध सूचीमा राख्ने निर्णय गरेको छ।
ईयूकी विदेश नीति प्रमुख काया क्लासले सोमबार यसको जानकारी दिनुभएकाे हाे। उहाँले आधा भन्दा बढी सूचीकरण रुसी बलिस्टिक मिसाइल उत्पादनसँग सम्बन्धित आपूर्ति शृंखलालाई लक्षित गरेको बताउनुभयाे । रुस–युक्रेन युद्ध सुरु भएयता प्रतिबन्ध सूचीमा गरिएको यो सबै भन्दा ठूलो एकमुस्ट विस्तार भएको क्लासले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएकाे छ।

उहाँका अनुसार, प्रतिबन्धको उद्देश्य युक्रेनविरुद्ध प्रयोग हुने हतियार उत्पादनलाई रुसका लागि कठिन, ढिलो र महँगो बनाउनु हो । ईयूले यसबाट रुसको सैन्य उत्पादन क्षमतामाथि दबाब बढ्ने विश्वास गरेको छ। लक्जमवर्गमा विदेश मामिला परिषद्को बैठक अघि प्रमुख क्लासले रुसको कब्जामा रहेका युक्रेनी भू-भागमा गराइएका चुनावको पनि आलोचना गर्दै तिनलाई ‘देखावटी चुनाव’ भएकाे बताउनुभयाे।
प्रमुख क्लासले युद्ध अन्त्यका लागि रुसमाथि निरन्तर दबाब कायम राख्नुपर्ने र प्रतिबन्धका विषयमा अमेरिकासँग समन्वय बढाउनुपर्नेमा जाेड दिनुभएकाे छ। गत महिना ईयूले युक्रेन सम्बन्धी प्रतिबन्ध ३ हजार भन्दा बढी व्यक्ति र संस्थामाथि थप तीन वर्षका लागि लम्ब्याएको थियो । त्यस क्रममा तीन व्यक्ति र एक संस्थालाई भने सूचीबाट हटाइएको थियो।
ईयू परिषद्का अनुसार, ती प्रतिबन्ध सन् २०२९ सेप्टेम्बर २२ सम्म लागू रहने भएकाे छ। प्रतिबन्ध सूचीमा परेका व्यक्तिमाथि यात्रा प्रतिबन्ध लगाइएको हाे। उनीहरूको सम्पत्ति रोक्का गर्न र उनीहरूलाई रकम वा अन्य आर्थिक स्रोत उपलब्ध गराउन समेत रोक लगाइएको छ।






