काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपकाे बारेमा पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनुभएको छ।
सांसद सुनारले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार रहेको उल्लेख गर्नुभउकाे हाे। विवादास्पद अडियो सार्वजनिक भएपछि उहाँले आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए कानूनी प्रक्रिया सामना गर्न तयार रहेको बताउनुभयाे।

सांसद सुनारले पार्टीको केन्द्रीय समितिबाट निलम्बित हुनुपर्ने अवस्था आए त्यसलाई समेत सामना गर्ने र सांसद पदबाट निलम्बन गर्नुपरे पनि तयार रहेको बताउनुभएको छ । आफूले कुनै अपराध गरेको प्रमाणित भए कानूनी प्रक्रिया स्वीकार गर्ने बताउनुभयाे।
सांसद सुनारले सार्वजनिक भएको अडियो एआईबाट बनाएको दावी गर्दै आफूले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण निरन्तर निशानामा परेको आरोप समेत लगाउनुभएको छ। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन बाँकी रहेकाे छ ।
रास्वपाले मंगलबार सांसद सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुङ्गोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हाे । यसै प्रकरणमा रास्वपाको केन्द्रीय अनुशासन आयोगले सांसद सुनारसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ । आयोगले स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढाउने जनाएको हाे।
सांसद सुनार बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य हुनुहुन्छ ।






