काठमाडाैं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।
पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित हुनुभएको हाे । खतिवडाले २ हजार ९ सय १९ मत र शिवाकोटीले २ हजार ७२ मत ल्यायर विजयी भएका छन् । सहमहामन्त्री खुलातर्फ डिल्लीराम सुवेदीले १ हजार ८ सय ५१, देवेन्द्रराज कँडेलले १ हजार ३ सय ८२ र राजिव ढुङ्गानाले १ हजार २ सय ४१ मत प्राप्त गरेका छन् । यद्यपि केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गरेको छैन ।

सहमहामन्त्री खुलातर्फ ९ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा थिए । जनसम्पर्क समितितर्फका सात केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । यस समूहका दुई महिला केन्द्रीय सदस्यमा सीता सापकोटा घिमिरे र चन्द्रा अधिकारी निर्वाचित भएका छन् । त्यस्तै, जनसम्पर्क समितिको युरोप क्षेत्रबाट जितेन्द्रविक्रम शाही निर्वाचित हुनुभएको हाे।
ओसियाना–अमेरिका क्षेत्रबाट सीए विद्याभूषण कार्की, मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल निर्वाचित भएका हुन् । प्यासिफिक क्षेत्रबाट डा.बलराम श्रेष्ठ र भारत क्षेत्रबाट बालकृष्ण पाण्डे निर्वाचित भएका छन् । कांग्रेसको केन्द्रीय सदस्यका अन्य समूह अन्तर्गत दलित, मधेशी, खस–आर्य, आदिवासी जनजाति, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, पेशागत समूह तथा विभिन्न भौगोलिक क्षेत्रका पदमा मतगणना चलिरहेको हाे।
निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम मत परिणाम सार्वजनिक गर्ने जनाएको छ ।






