काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा शनिबार नेपालले क्यानाडाकाे सामना गर्दैछ।
ओमानको अलअमिरातमा शनिबार बिहान सवाँ ११ बजेदेखि नेपालले क्यानाडाकाे सामना गर्ने भएकाे हाे। ओमानमा यसअघि आफ्ना दुई खेलमा लगातार जित निकालेको नेपालको ३४ खेलमा २८ अंक छ। अब शीर्ष–६ भित्र पर्न नेपालले बाँकी २ मध्य कम्तिमा एउटा जित्नुपर्नेछ । नेपालले अन्तिम खेल अघि नै शीर्ष–६ मा पर्न आज क्यानाडालाई पराजित गर्नुपर्ने हुन्छ ।

शनिबार पराजित भएमा नेपालले अन्तिम खेलमा ओमानलाई पराजित गर्नुपर्ने दबाब हुने भएकाे छ । शीर्ष–६ मा रहे एकदिवसीय मान्यता जोगिने भएकाे हाे। लिग-२ अन्तर्गत बिहीबार भएको खेलमा ओमानलाई ५८ रनले पराजित गर्दै क्यानाडाले पनि शीर्ष–६ को सम्भावनालाई जीवितै राखेको छ । उसको ३५ खेलमा २७ अंक छ ।
अहिले अंकतालिकामा नेपाल छैठौं, क्यानडा सातौं र युएई अन्तिम आठौं स्थानमा रहेकाे हाे। क्यानाडाको शनिबार अन्तिम खेल हो । नेपालले भने लिग–२ श्रृङखलाको अन्तिम खेल सोमबार ओमानसँग खेल्ने भएकाे छ । क्यानाडालाई पनि शीर्ष–६ को सम्भावना कायम राख्न शनिबार जित्नैपर्ने दबाब छ ।
नेपालले शनिबार क्यानडा वा सोमबार ओमानमध्ये एकलाई पराजित गरेमा छैठाैं स्थान निश्चित गर्ने भएकाे हाे। शीर्ष ६ मा परे नेपालको एकदिवसीय मान्यता जोगिने भएकाे छ । नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।






