एजेन्सी। भारतको दिल्लीमा एक हप्ता अघि भएको प्रदर्शनका क्रममा पक्राउ परेका ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का २ जना नेता रिहा भएका छन् ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारको राजीनामा माग्दै प्रदर्शन गरेका सीजेपीका प्रमुख प्रवक्ता सौरभ दास र सहसंयोजक आशुतोष रांका बुधबार जेलमुक्त भएका हुन्। उनीहरुलाई दिल्लीको जन्तर मन्तरमा निषेधित प्रदर्शनस्थलमा प्रवेश गरेको आरोपमा प्रहरीले पक्राउ गरी जेलमा राखेको थियो । विशेष कार्यकारी मजिस्ट्रेटको अदालतले रिहाइको आदेश दिएपछि सौरभ र आशुतोष जेलबाट छुटेका हुन् ।

उनीहरुले आफूहरूले कुनै गलत काम नगरेको प्रतिक्रिया दिएकाे बीबीसी हिन्दीले जनाएको छ । भारतको निर्वाचन आयोगले सत्तारूढ दललाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरेको आरोप लगाउँदै सीजेपी समर्थकहरुले मुख्य निर्वाचन आयुक्तको राजीनामा मागिरहेका हुन् ।
तर, निर्वाचन आयोगले भने यो आरोप अस्वीकार गर्दै आएको छ । ‘कक्रोच जनता पार्टी’ सन् २०२६ को मे महिनामा इन्टरनेटमा शुरु भएको एउटा व्यङ्ग्यात्मक अभियानबाट विकसित भएको हो । भारतका प्रधानन्यायाधीशले बेरोजगार युवाहरूलाई ‘कक्रोच’ अर्थात् साङ्लासँग तुलना गरेपछि यसको शुरुवात भएको थियो ।






