काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन प्रस्थान गर्नुभएको छ।
वरिष्ठ नेता भण्डारी बिहीबार चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स फोरम’ मा सहभागी हुनका लागि चीन प्रस्थान गर्नुभएको हो । परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यहि अक्टोबर २३ देखि २५ तारिखसम्म आयोजना हुने भएकाे छ।

सोही सम्मेलनलाई वरिष्ठ नेता भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको सचिवालयले जनाएको हाे । उक्त सम्मेलन अन्तर्गत अक्टोबर २४ र २५ तारिखमा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिने भएकाे छ ।
फोरममा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवद्र्धन, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिका लगायतका विषयमा छलफल हुने भएकाे हाे ।
सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेस लगायतका विषयमा समेत बहस हुने भएकाे छ। वरिष्ठ नेता भण्डारी कार्तिक ९ गते सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको सचिवालयले जनाएकाे हाे ।






