काठमाडाैं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले नेपालको पहिलो समस्या नै रोजगारीको समस्या भएको बताउनुभएकाे छ।
रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आइतबार आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। रोजगारीको समस्या समाधान गर्ने रोडम्याप उनेपाले बनाएकाे बताउनुभयाे। उहाँले भन्नुभयाे, -‘हरित क्रान्ति गरेर यो देशलाई समृद्ध बनाउँछौं भनेर हामी लागेका छौं, यसले गर्दा वातावरण मात्र होइन आर्थिक, सामाजिक हिसाबले पनि नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ।’

अध्यक्ष घिसिङले धेरै वादको कुरा गरेर देश अघि नबढ्ने र नेपालमा विभिन्न वादका कुरा गरे पनि देशमा आर्थिक समुन्नति हुन नसकेको बताउनुभयाे । उहाँले उनेपाकाे सैद्धान्तिक र वैचारिक बाटो भनेको आर्थिक रूपान्तरणको मध्यमार्गी बाटो भएको प्रष्ट पार्नुभएकाे छ । देशको विकास गरेर तल्लो वर्गका नागरिकलाई समानताको हिसाबमा ल्याउने उज्यालो नेपालको परिकल्पना रहेको बताउनुभयाे ।
अध्यक्ष घिसिङले देशमा आर्थिक रूपान्तरण भनेको दुई चारजना मानिसहरूलाई धनी बनाउनु नभई सबैको प्रगतिको बाटो बनाउनुभएको छ।उनेपा ‘स’ सुशासन, समृद्धि र सामाजिक न्यायको तीनखम्बे नीति लिएर अघि बढेको उहाँले प्रष्ट पार्नुभयाे । आगामी दिनमा देशलाई आर्थिक रूपान्तरणमा लगेर देशलाई समृद्ध बनाउने उहाँकाे दावी छ।
अध्यक्ष घिसिङले उनेपाको सरकार बनेपछि देशमा ५ वर्ष भित्र शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने बताउनुभयाे । २ सय युनिटसम्म बिजुली निःशुल्क गर्न सकिने पनि उहाँले दावी छ । नेपालीलाई समृद्ध बनाउन एक हजारदेखि दुईहजार कित्ता विद्युतको शेयर प्रत्येक नेपालीलाई निःशुल्क दिने आफ्नो पार्टीको योजना रहेको बताउनुभयाे।
अध्यक्ष घिसिङले करिब ४० हजार मेगावाट विद्युत २० वर्षमा उत्पादन गर्न सकिने बताउनुभएकाे छ। भारत र बंगलादेशमा ३० हजार मेगावाट बेच्न सकियो भने नेपालले २० देखि ३० खर्ब रुपैयाँ आम्दानी गर्न सक्ने बताउनुभयाे । देश भित्र ग्यास र तेलको सट्टा विद्युत् प्रयोग गर्दा विदेशिने ठूलो धनराशि जोगाउन सकिने उहाँले स्पष्ट पार्नुभएकाे छ।
अध्यक्ष घिसिङले नेपालमा अब ग्रिन हाइड्रोजन बन्न लागेको र त्यसबाट गाडीदेखि जहाजहरूसम्म चलाउन सकिने बताउनुभयाे । युरिया मल बनाउन समेत ग्रिन हाइड्रोजन प्रयोगमा आउने बताउनुभएकाे छ। कृषिको लागि पनि पानी आधार भएको बताउँदै उनले ग्रिन पर्यटनको लागि पनि पानी महत्पूर्ण स्रोत भएको बताउनुभयाे ।
अध्यक्ष घिसिङले समग्रमा नेपाली युवालाई डिजिटल अर्थतन्त्रमा सहभागी गराउने पनि पानी नै महत्त्वपूर्ण स्रोत भएको स्पष्ट पार्नुभएकाे छ। नेपाली युवालाई डिजिटल इकोनोमीमा संलग्न गराउनु अपरिहार्य रहेकाे उहाँकाे भनाइ थियाे। नेपालमा युवालाई रोजगारी दिने र देशलाई समृद्ध बनाउने उद्देश्यका साथ आफूले उनेपा स्थापना गरेर आएकाे बताउनुभएकाे छ।






