काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कुल १५० करोड रुपैयाँसम्मको ऐतिहासिक आर्थिक कारोबार हुने दावी गरेको छ।

क्यानले स्पोन्सर, टिकटिङ र अधिकारबाट ७५ करोडसम्मको आर्थिक कारोबार हुने जनाएको हाे। टिमहरूले पनि त्यही हाराहारीमा कारोबार गर्ने  र एनपीएल २०२६ को कुल कारोबार १५० करोडसम्मको हुने  क्यानका काेषाध्यक्ष पदम खड्काकाे दावी रहेकाे हाे।  साथै एनपीएल तेस्रो संस्करणको च्याम्पियन बन्ने टाेलीले १ कराेड ५० लाख पुरस्कार पाउने भएको छ।

क्यानले आइतबार आयाेजना गरेकाे पत्रकार सम्मेलनमार्फत क्यानका काेषाध्यक्ष  खड्काले पुरस्कार राशीकाे बारेमा जानकारी गराउनुभयाे। खड्काका अनुसार उपविजेताले ८० लाख, तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउने भएका छन् । त्यस्तै, सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्ने भएकाे हाे।

प्रतियोगितामा ८ टिम सहभागी रहेका छन्। साेमबार साँझ ५ बजेदेखि हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम राेयल्सबी कडा प्रतिस्पर्धा हुने भएकाे छ।  पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।

यसैबीच प्रतियोगिताकाे उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेकाे छ।  क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटनका लागि प्रधानमन्त्री शाहलाई निमन्त्रणा गरिएको बताएका हुन् । यसका साथै प्रतियोगिताकाे सबै तयारी करिब पूरा भएको समेत क्यानले जनाएको छ।