काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षाले व्यक्तिको जीवन सहज बनाउनुका साथै समाजका लागि उपयोगी र असल नागरिक निर्माण गर्नुपर्ने बताउनुभएकाे छ।
स्मृति प्रतिष्ठान नेपालले मंगलबार आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे। शरीर साबुनपानीले सफा गर्न सकिए पनि मन सफा गर्नु आजको ठूलो समस्या भएको बताउनुभयाे। शिक्षाका दुई मुख्य उद्देश्य रहेको उल्लेख गर्दै उहाँले पहिलो व्यक्तिको जीवन सहज र सरल बनाउनु तथा दोस्रो समाजका लागि उपयोगी सदस्य बनाउनु रहेको बताउनुभएकाे छ।

अध्यक्ष ओलीले प्राविधिक ज्ञान र शैक्षिक प्रमाणपत्र मात्रै ठूलो कुरा नभएको भन्दै व्यक्तिमा मानवता र असल व्यवहार पनि हुनुपर्नेमा जोड दिनुभयाे । सभ्य समाज निर्माणका लागि भाषा, संस्कृति, कला र व्यक्तिको वाणी तथा उच्चारणसमेत महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । सभ्यताका विविध पक्षलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले मानिसले आफूलाई सभ्य बनाउने विषयमा पनि विचार गर्नुपर्ने बताउनुभयाे ।
अध्यक्ष ओलीले सत्य, न्याय र मानवतावादलाई विचार निर्माणको आधार बनाउनुपर्नेमा जाेड दिनुभएकाे छ। अष्टाङ्ग योगको यम र नियमको प्रसङ्ग उल्लेख गर्नुभयाे। उहाँले हिंसा नगर्ने, असत्य नबोल्ने, सत्य बोल्ने, शान्तिको मार्गमा हिँड्ने र अरूको सम्पत्तिमा लोभ नगर्ने व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभएकाे छ ।
कार्यक्रममा अध्यक्ष ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठानको स्थापनाका क्रममा जग्गा प्राप्तिका लागि भएको प्रयासकाे बारेमा पनि चर्चा गर्नुभयाे। उहाँले २० बिघा जग्गा उपलब्ध गराउने प्रयास भए पनि पार्टीभित्रकै असहमतिका कारण सात बिघा जग्गामा सम्झौता गर्नुपरेको बताउनुभएकाे छ ।
अध्यक्ष ओलीले २०५१ सालमा सरकार बनेपछि मङ्गलबारेमा रहेको ऐलानी जग्गामध्ये २० बिघा मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीलाई दिन खोजिएको बताउनुभयाे । शुरुमा ‘मदन भण्डारी प्रतिष्ठान उर्लाबारी’ नाम राखिएकोमा पछि प्रतिष्ठानलाई स्थानीय क्षेत्रमा मात्रै सीमित ठानिने अवस्था नहोस् भनेर ‘मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल’ नामकरण गरिएको बताउनुभएकाे छ।
अध्यक्ष ओलीले प्रतिष्ठानका लागि २० बिघा जग्गा उपलब्ध गराउने प्रस्तावमा पार्टीभित्रै असहमति रहेको स्मरण गर्नुभयाे। उहाँले जग्गाको विषयमा सहमति हुन नसकेपछि सात बिघा जग्गामा चित्त बुझाउनु परेको समेत बताउनुभएकाे ।






