काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन् ।
कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारलाई गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताउनुभएकाे हाे । उहाँले सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजीनीति गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको उल्लेख गर्नुभएकाे छ।

महामन्त्री पौडेलले कुनै समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको परीक्षण र निरूपण गर्ने कानूनी बाटो हुँदाहुँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारलाई हतोत्साहित पार्ने प्रयास विधिको शासन विपरीत भएको बताउनुभयाे।
महामन्त्री पौडेलले प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउने बताउनुभएकाे छ। पक्राउ गरिएका पत्रकारलाई अविलम्ब ससम्मान रिहा गर्न, सञ्चारगृहमाथिको अनावश्यक हस्तक्षेप र निगरानी बन्द गर्न तथा कानूनी प्रक्रियामार्फत सत्यतथ्य छानबिन गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयाे ।
त्यस्तै, कांग्रेसकै अर्का नेता नैनसिंह महरले नेपाल प्रेसको कार्यालयमा प्रवेश गरी पत्रकार विश्वमणि सुवेदी र नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रवेश गरी पत्रकार नवराज मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएकाे छ । उहाँले अन्य धेरै पत्रकारको समेत खोजी भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्नुभयाे । प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास लोकतन्त्रको बर्खिलाप भएको उहाँको ठहर छ।
नेता महरले राज्यद्वारा सञ्चालित दमन र हुर्मत लिने कार्यले प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गर्ने भन्दै यस्ता नियोजित गतिविधिको निन्दा गर्नुभयाे। लोकतन्त्रमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान हुनुपर्नेमा जाेड दिनुभएकाे छ।
नेता महरले पत्रकारिता क्षेत्रमाथिको हस्तक्षेपले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने बताउनुभयाे।






