काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनुभएकाे छ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शनिबार बोल्दै उहाँले अदालतको पक्राउ पूर्जीबिनै सरकारले नाटकीय ढंगले सञ्चारमाध्यममाथि ज्यादती गरेको आरोप लगाउनुभएकाे हाे। नेता थापाले राणा शासन, पञ्चायतकाल र निरंकुश राजतन्त्रको समयमा समेत सञ्चारमाध्यममाथि यस्तो व्यवहार नभएको दावी गर्नुभयाे ।

निरंकुश शासन व्यवस्थामा समेत प्रक्रिया पूरा गर्ने गरिएको उल्लेख गर्दै उहाँले जनमत प्राप्त लोकतान्त्रिक सरकारबाट सञ्चारमाध्यममाथि यस्तो व्यवहार हुनु विडम्बनापूर्ण भएको टिप्पणी गर्नुभएकाे छ। नेता थापाले प्रहरी हिरासतमा रहेका इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा–५ मा सर्वेक्षणका लागि परिचालित व्यक्ति रहेको समेत दावी गर्नुभयाे । सापकोटा प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्रमा सर्वेक्षण गर्न खटिएको व्यक्ति भएको जानकारी आफूलाई रहेको उल्लेख गर्नुभएकाे छ।
नेता थापाले प्रधानमन्त्रीसँग कुनै सम्बन्ध नभएको व्यक्तिले न्यायाधीशलाई प्रभावमा पार्न सक्ने विषयमा प्रश्न उठाउँदै सापकोटा प्रधानमन्त्री शाहसँग सम्बन्धित विचौलिया भएको आरोप समेत लगाउनुभयाे। उहाँले भन्नुभयाे,-‘प्रधानमन्त्रीसँग सम्बन्ध नभएको व्यक्तिले न्यायाधीशलाई हप्काउन सक्छ ? सापकोटा विचौलिया हुन् भने बालेनकै हुन्।’
पत्रकार पक्राउ प्रकरण बारे टिप्पणी गर्दै नेता थापाले शुक्रबारको घटनाले नेपालको मिडियामाथि जहाँनिया राणा शासन, पञ्चायत र निरंकुश राजतन्त्रकालमा समेत नभएको प्रकृतिको व्यवहार भएको आरोप लगाउनुभयाे। पत्रकारले आफ्नो समाचार स्रोतको संरक्षण गर्न पाउने व्यवस्था संविधानमै स्पष्ट रहेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यम र पत्रकारमाथि भएको व्यवहारप्रति आपत्ति जनाउनुभएकाे छ।
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री शाह र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसहितको संलग्नता रहेको आरोप नेता थापाकाे थियाे । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले वर्तमान संसद्लाई पाँच वर्षसम्म टिकाउन सक्नेमा समेत आशंका व्यक्त गर्नुभएकाे छ।
उहाँले भन्नुभयाे,-‘यो पार्लियामेन्ट पनि पाँच वर्ष टिक्ने देखिएन। त्यसैले आफ्नो छटपटी उहाँहरूले कहिले मिडियातिर, कहिले कता देखाउनुहुन्छ।’ सरकार गठन भएको सात महिना बितिसक्दा पनि सरकारी सञ्चारमाध्यमलाई बेवास्ता गरिएको आरोप लगाउँदै नेता थापाले प्रधानमन्त्री शाहको सञ्चारमाध्यमप्रतिको बुझाइप्रति समेत प्रश्न उठाउनुभयाे ।
उहाँले प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै भएकाे समेत बताउनुभएकाे छ। उहाँले सञ्चारमाध्यममाथि गरिएको दुर्व्यवहारप्रति प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग समेत गर्नुभयाे ।
नेता थापाले सरकारको यस्तो गतिविधिले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने भन्दै सरकारको कार्यशैलीप्रति आलोचना गर्नुभएकाे छ।






