काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध दुष्प्रचार तथा पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसको निष्पक्ष छानबिनका लागि कांग्रेस तयार रहेको निष्कर्ष निकालेको छ ।
पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकपछि बिहीबार सहमहामन्त्री प्रकाश रसाइलीले उक्त निष्कर्ष निकालेको जानकारी दिनुभएकाे हाे। उहाँले भन्नुभयाे, -‘सरकार केन्द्रित केही व्यक्तिहरू संलग्न भएर नेपाली कांग्रेस पार्टीका विषयमा दुष्प्रचार गर्ने, पार्टी नेतृत्वका बारेमा खराब प्रचार गर्ने र नेपाली कांग्रेस पार्टीलाई कमजोर बनाउने षड्यन्त्र भएको छ । जस्तोसुकै छानबिनका लागि पनि नेपाली कांग्रेस पार्टी तयार छौं, हाम्रो नेतृत्व तयार छ । तर प्रमाणका आधारमा हुनुपर्छ । बिना प्रमाण पूर्वाग्रही ढंगले गरिने कुरालाई हामी स्वीकार गर्दैनौँ ।’

सहमहामन्त्री साइलीले छानबिन प्रतिशोधपूर्ण भए कांग्रेसले प्रतिकार र प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयाे । सत्यतथ्य र प्रमाणका आधारमा प्रक्रिया अघि बढेमा छानबिनमा सहयोग गर्ने उहाँले स्पष्ट पार्नुभएकाे छ। उहाँले यस विषयमा संसद र संसदीय समितिमा पनि छलफल हुनुपर्ने बताउनुभएकाे छ। सांसदहरूसँग भएको छलफलमा उक्त विषयलाई संसदीय समिति र संसदमा कसरी प्रभावकारी रूपमा उठाउने भन्ने बारेमा पनि कुराकानी भएको उहाँले जानकारी दिनुभयाे ।
सहमहामन्त्री साइलीले बैठकमा भोटेकोशी क्षेत्रमा दशैंकाे समय प्रभावित भएका नागरिकको अवस्थाकाे बारेमा पनि बैंठकमा छलफल भएको बताउनुभएकाे छ। प्रभावित नागरिकले बस्न, खान र बासको व्यवस्था पाउन नसकेको उल्लेख गर्दै उहाँले उनीहरूको वर्तमान अवस्था बुझ्नुपर्नेमा जाेड दिनुभयाे।
उहाँले भन्नुभयाे,-‘दशैंको समयमा पनि धेरै आम नागरिकहरूको बिचल्ली हामीले त्यहाँ देख्यौं । बस्न नपाएको, खान नपाएको, साह्रै पीडामा रहेका नागरिकहरूको गास र बासको अवस्था के छ भन्ने बारेमा स्थानीय जनप्रतिनिधि र संघीय सांसदहरूलाई बोलाएर छलफल गर्ने र आवश्यक पर्ने सहयोग पार्टीले गर्ने विषयमा कुरा भएको छ ।’






