काठमाडाैं । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गरेको छ ।
महासंघकी अध्यक्ष निर्मला शर्माका नेतृत्वमा पदाधिकारी, सल्लाहकार र केन्द्रीय सदस्यसहितको टोलीले शुक्रबार राष्ट्रपतिसँग भेटेर अध्यादेशमा भएका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावका विषयमा ध्यानाकर्षण गराएको हो । टोलीले सरोकारवाला पक्षसँग प्रर्याप्त छलफल र परामर्श नगरिकन संसद्लाई छलेर अध्यादेशमार्फत कानून ल्याइनु लोकतान्त्रिक विधि र प्रक्रियासँग मेल नखाने राष्ट्रपति पाैडेल समक्ष जानकारी गराएको महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

पछिल्लो समय समाचार कक्षमा प्रवेश गरी प्रहरीले पत्रकारमाथि धरपकड गरेको बारेमा स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही नगर्दै सरकारले अध्यादेश ल्याएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई थप प्रभावित बनाएको महासंघकाे ठहर छ। महासंघले संवैधानिक मर्म अनुसार आफ्नो विवेक प्रयोग गरिदिनुहुन राष्ट्रपति पाेडेल समक्ष आग्रह गरेको हाे ।






