काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हावी भएको बताउनुभएकाे छ ।
काठमाडौंमा शनिबार दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक लोकार्पण गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। विगतका वर्षमा सुशासन र विकासका क्षेत्रमा केही पनि काम भएन भन्ने विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति राज्यमा हावी भएको बताउनुभयाे। उहाँले भन्नुभयाे,- “केही पनि भएन ३५ वर्षमा भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हावी छ अहिले।”

संयोजक प्रचण्डले आफू नेतृत्वको तत्कालीन सरकारलाई भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरिएको समेत उल्लेख गर्नुभयाे । वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले यसका कामकाज हेर्दा हिन्दी जासुसी फिल्मजस्तो देखिएको टिप्पणी गर्नुभएकाे छ । वर्तमान सरकारले हुँदै नहुने विचित्रको काम देखाउन थालेको उहाँकाे ठहर छ ।
संयोजक प्रचण्डले सुशासनका विरुद्ध लड्दा आफूहरूलाई अपदस्थ गरेकै कारण अहिले देश दुर्घटनामा गएको बताउनुभयाे। कर्णालीको विकासका निम्ति आफूले विगतदेखि नै काम गरेको र शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा निकै प्रगति भएको बताउनुभएकाे छ।






