काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको बताउनुभएकाे छ।
नेपाली कांग्रेसको देउवा पक्षको १५औं काठमाडौं जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उहाँले पार्टीको नियमित महाधिवेशनपछि मात्रै विशेष महाधिवेशनको विषय अघि बढाउन आफूले आग्रह गरेको बताउनुभएकाे हाे । उहाँले विशेष महाधिवेशनको इतिहास स्मरण गर्दै विगतमा सुवर्णशमशेर र वीपी कोइराला समेत विशेष महाधिवेशनको पक्षमा रहेको उल्लेख गर्नुभएकाे छ।

उहाँले भन्नुभयाे, -‘काठमाडौं जिल्लाको जो अधिवेशन भइरहेको छ, यो अत्यन्तै महत्त्वपूर्ण छ। अब मैले नबोली हुँदैन। यो विशेष महाधिवेशनको सम्बन्धमा मैले बोल्नैपर्ने कुरा के छ भने सुरुमा विशेष महाधिवेशन भएको बेला सुवर्णशमशेर सभापति हुनुहुन्थ्यो, उहाँले गराउनुभएको हो। बीपी कोइराला सभापति नभए पनि उहाँ पनि समर्थक हुनुहुन्थ्यो विशेष महाधिवेशनमा।’
देउवाले आफू सभापति रहेका बेला पनि विशेष महाधिवेशन विस्थापन गर्न नहुने धारणा राखेको बताउनुभयाे । उहाँले गगन थापालाई नियमित महाधिवेशनपछि मात्रै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउन सुझाव दिएको उल्लेख गर्नुभएकाे छ। उहाँले आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको भन्दै त्यसविरुद्ध अदालतमा मुद्दा दायर गरेको बताउनुभयाे ।
देउवाले निर्वाचन आयोगका प्रमुखले आफ्नो ज्यानलाई खतरा रहेको विषय समेत सार्वजनिक रूपमा बोलेको दावी गर्नुभएकाे छ । साथै उहाँले पार्टीसँग जोडिएको १८ करोड रुपैयाँको विषय उठाउँदै आर्थिक लेनदेनका आधारमा पार्टी किन्न खोजिएको आरोप लगाउनुभयाे ।
उहाँले भन्नुभयाे, -‘इनम सापकोटा र १८ करोड भनेको छ, १८ करोड सानो पैसा हो र त्यो । त्यो पैसा दिएर अब पार्टी किन्दियो । पैसामा पार्टी बेच्दिने अब हामीले ?’






