काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट उत्पन्न संकटको अवस्थाबारे उच्चस्तरीय छलफल गर्दै प्रभावित नागरिकको उद्धार, उपचार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
नुवाकोटको बाढी प्रभावित विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल सरकारका मुख्यसचिवसहित विभिन्न मन्त्रालयका सचिवहरूको आपतकालीन बैठक बोलाएका हुन्।

बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न र विस्थापित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन्।
उनले विस्थापित नागरिकका लागि निर्माण गरिएका राहत शिविर व्यवस्थित, सुरक्षित, सफा र मर्यादित हुनुपर्नेमा विशेष जोड दिएका छन्। शिविरमा व्यक्तिगत गोपनीयता कायम गर्न तथा महिला, बालबालिका र वृद्धवृद्धालाई उचित सम्मान, सुरक्षा र प्राथमिकताका साथ राख्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
बाढीका कारण क्षतिग्रस्त सडक, विद्युत् तथा सञ्चार संरचना यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयहरूबीच समन्वय गरी एकीकृत कार्ययोजनासहित काम गर्न निर्देशन दिइएको छ।
बैठकमा विपद् व्यवस्थापन, उद्धार तथा राहतसँग प्रत्यक्ष सम्बन्धित रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउँदै प्रभावित नागरिकको जीवनरक्षा र आवश्यक सेवाको निरन्तरतालाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।






