बाजुरा । बाजुरा सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ मा पर्ने मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बाउली खोलामा निर्माणाधीन पक्की पुलको काम पाँच वर्षपछि पुनः सुरु भएको छ। सम्झौता भएको लामो समयसम्म निर्माण हुन नसकेको पुलको काम अहिले मुख्य ठेकेदार कम्पनीले अघि बढाएको हो।
सडक डिभिजन साँफेबगर, अछामका सूचना अधिकारी इन्जिनियर सुभाष शाहका अनुसार २०७८ साल कात्तिकमा ५ करोड ५८ लाख ८८ हजार रुपैयाँ लागतमा पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो। २०७९ साल फागुनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त पुल निर्माणको जिम्मा टिडिआर–जुगल–कौशिक जेभी, धनगढीले पाएको थियो।

तर ठेक्का सम्झौता भएको पाँच वर्षसम्म पनि निर्माण कम्पनीले प्रभावकारी रूपमा काम गर्न नसकेपछि पुल अलपत्र परेको थियो। सूचना अधिकारी शाहका अनुसार सुरुमा जुगल निर्माण सेवाले केही दिन काम गरे पनि निरन्तरता दिन सकेन। पछि टिडिआर र जुगल कालोसूचीमा परेपछि जेभीमा आबद्ध कौशिक निर्माण सेवाले पुल निर्माणको जिम्मा लिएर काम अघि बढाएको हो।
पुल निर्माणका लागि थपिएको अन्तिम म्याद २०८२ साल फागुनमै सकिएको थियो। अहिले कौशिक निर्माण सेवाले आगामी पुस मसान्तसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। निर्माण कम्पनीले ठेक्का सम्झौताअनुसार प्रतिदिन ०.०५ प्रतिशतका दरले पूर्वनिर्धारित क्षतिपूर्ति (जरिवाना) तिर्दै काम गरिरहेको सडक डिभिजनले जनाएको छ।
केही दिनअघि मात्रै पुनः निर्माण सुरु गरेको कम्पनीले हालसम्म करिब २० प्रतिशत भौतिक प्रगति गरेको सूचना अधिकारी शाहले बताए। पुस वा माघसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको र तोकिएको समयमा काम सम्पन्न नभए जुनसुकै बेला ठेक्का तोड्न सकिने उनले स्पष्ट पारे।
यसअघि पुल निर्माणका लागि फाउन्डेसन तयार गरी सरिया राखिएको भए पनि वर्षायाममा आएको बाढीले संरचना पूर्ण रूपमा बगाएको थियो। त्यसपछि पुनः निर्माणका लागि म्याद थप गरिएको थियो। तर निर्माण कम्पनीले कामलाई निरन्तरता दिन नसकेपछि लामो समयदेखि पुल निर्माण अलपत्र परेको हो।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ हुँदा वर्षायाममा मार्तडी–कोल्टी सडक अवरुद्ध हुने गरेको बताए। पुल निर्माणका लागि पटकपटक ताकेता गर्दा पनि काम अघि नबढेको उनको भनाइ छ।
बाउली खोला नजिकै रहेको अनाई खोलामा निर्माण गरिएको पक्की पुल भने सम्झौता भएको एक वर्षभित्रै सम्पन्न भएर सञ्चालनमा आइसकेको नगर प्रमुख खड्काले बताए।
बाउली खोलामा पुल नहुँदा बाजुराको पूर्वी–उत्तरी क्षेत्रका चार स्थानीय तहसँगै बडीमालिका–७ तथा छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका नागरिकसमेत प्रभावित हुँदै आएका छन्। पुल नहुँदा वर्षायाममा यातायात सेवा प्रभावित हुने र स्थानीयले आवतजावतमा ठूलो सास्ती खेप्नुपरेको स्थानीय सन्तोष विकले बताए।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आफू जिल्लामा आएदेखि नै बैठकमार्फत ठेकेदारलाई पुल निर्माणका लागि पटकपटक निर्देशन दिँदै आएको बताए। अहिले मुख्य ठेकेदारले चासो देखाएर काम सुरु गरिसकेकाले यसपटक पुल निर्माण सम्पन्न हुने अपेक्षा गरिएको उनको भनाइ छ।
सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बाउली खोला र बडीमालिका–७ को रजातोली खोलामा पुल निर्माण नहुँदा सडकको यातायात सेवा प्रभावित हुँदै आएको छ। बाउली खोलामा पुल निर्माण कार्य पुनः सुरु भए पनि रजातोली खोलामा पुल नहुँदा मार्तडी–कोल्टी सडकखण्डमा अझै समस्या कायमै रहेको छ।






