बाजुरा–रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका बाजुराका १४ जना अझै सम्पर्कमा आएका छैनन् । जिल्लाको हिमालीका ८, स्वामीकार्तिक खापरका ५ र जगन्नाथ गाउँपालिकाका एक जना बाढीपछि सम्पर्कविहीन भएका थिए ।
यसअघि १३ जना सम्पर्कविहीनको थप एक जना गरी हालसम्म भोटेकोशी बाढीपछि जिल्लाका १४ जना नागरिक अझै सम्पर्कमा नआएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । बाढीपछि १४ जनाको मात्रै खोजी कार्यका लागि प्रहरी वा प्रशासनमा जानकारी आएको भन्दै यीबाहेक अन्य कसैको विवरण नआएको उनले बताए ।

जसमा हिमाली गाउँपालिकाका अन्दाजी १९ वर्षीय दीपक रोकाया, ५० वर्षीय विष्णुमती रोकाया, ३५ वर्षीय आराम नेपाली, ३२ वर्षका मोहनलाल रोकाया, विक्रम भण्डारी, ५५ वर्षीय बिसी पाण्डे, नेपाली सेनामा कार्यरत ४५ वर्षका दिपेश सार्की र चन्द्र साकी सम्पर्कविहीन छन् । यस्तै, स्वामीकार्तिक खापर गाउँपालिकाका ४० वर्षका मनऋषि सञ्ज्याल, ३८ वर्षीय मनकला सञ्ज्याल, १८ वर्षीय सुस्मिता जोशी, ४६ वर्षीय विरेन्द्र जैशी, ४४ वर्षीय सत्यादेवी जैशी र जगन्नाथ गाउँपालिकाका २९ वर्षीय मुकेश दमाई हालसम्म पनि सम्पर्कमा नआएको विवरण प्राप्त भएको प्रशासनले जनाएको छ ।






