कञ्चनपुर, १३ भाद्र । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेशसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–१, दहबगरका २२ वर्षीय कलक धामी र केदारस्युँ गाउँपालिका–७, काँडाचौरका ५० वर्षीय करन धामी रहेका छन्।

इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोस्ट गजरौलाको संयुक्त टोलीले शुक्रबार राति गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जिप जाँच गर्दा जिपको बोनटभित्र लुकाइएको अवस्थामा उक्त चरेश फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार पक्राउ परेका दुवै जनालाई जिपसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।






