ललितपुर: जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका अभ्यासका कारण विपद्को सामना भोग्नुपरेको बताएका छन्।
उनले विपद् जोखिमको मूल्याङ्कनबिना नै आयोजनाको योजना बनाउँदा नेपालका धेरै जलविद्युत आयोजनामा क्षति पुग्ने गरेको छ जनाउँदै यस्तो समस्याका कारण नेपालका सबै बैंकिङ क्षेत्र र बिमा कम्पनीसमेत समस्यामा पर्ने बताए। “सन् १९९८ बाट नेपालमा जलवायु परिवर्तनको सरोकारका विषयमा छलफल सुरु भएको हो, छलफल धेरै भएका छन् तर हामीले ध्यान दिएका छैनौँ, जलवायु परिवर्तनको असर र भूवैज्ञानिक अस्थिरताले पनि हामी असुरक्षित छौँ, अहिले रसुवा बाढीको समस्या प्रकृतिलाई हामीले ध्यान नदिँदा भएको गलत विकासले निम्त्याएको समस्या हो, जलवायु परिवर्तनको असरले पार्ने यस्ता विपद्ले लामो समयसम्म सामाजिक प्रभाव पार्छ”, उनले भने।

संगोष्ठीमा सिभिल इन्जिनियर तथा जलविद्युत् पूर्वाधारविद् तारानाथ सापकोटाले विगत १०० वर्षको बाढी र प्रकृतिक जोसखमलाई अध्ययन गरेर आयोजना डिजाइन गर्नुपर्छ भन्नेमा जोड दिए। “नेपालमा निश्चित नदीमा केन्द्रित भएर जलविद्युत्को अध्ययन गर्ने प्रचलन छैन, इन्जिनियरहरूले गर्ने पूर्वाधार योजना दीर्घकालीन र दिगो सोचअनुसार हुनसकेको छैन, इन्जिनियरिङ आयामहरू पनि परिवर्तन गर्नुपर्ने आवश्यकता छ, विकासका नाममा समस्यामा पार्ने नीति उपयुक्त हुँदैन, विपद्बाट क्षतविक्षत भएको जलविद्युत आयोजनालाई रेजिलियन्ट बनाउन सकिन्छ भनेर राम्रो अध्ययन आवश्यक छ”, उनले भने।







