धनगढी। एक वर्षअघि श्रीकृष्ण जन्माष्टमी आउनुअघि जयगढ बजारमा उत्सवको तयारी थियो। बजार सजिँदै थियो, झण्डा गाडिँदै थिए र चाडपर्वको रौनक सुरु हुँदै थियो।
तर, त्यही खुसीको तयारी साउँद परिवारका लागि कहिल्यै नमेटिने पीडामा परिणत भयो। गत वर्ष श्रीकृष्ण जन्माष्टमीको अघिल्लो दिन जयगढ बजारमा झण्डा गाड्ने क्रममा विद्युत्को तारमा झण्डाको पोल छोइँदा करेन्ट लागेर मृत्यु भयो। गजेन्द्र साउँद र राधा साउँद दम्पतीका एक्लो छोरा रोहितको असामयिक मृत्युले परिवारलाई स्तब्ध बनाएको थियो।

समय बित्दै गयो। तर, छोराको पीडा परिवारको मनबाट मेटिएको थिएन। अझै रोहितको सम्झना र उनको अभावसँगै जीवनलाई अघि बढाउने प्रयास गरिरहेका साउँद दम्पतीमाथि एक वर्ष पूरा नहुँदै फेरि अर्को बज्रपात परेको छ।
यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमीको अघिल्लो दिन। यसपटक उनीहरूले आफ्नी जेठी छोरी झरना साउँदलाई गुमाएका छन्।
केही दिनअघि मुटुसम्बन्धी समस्याका कारण काठमाडौंस्थित केएमसी अस्पतालमा भर्ना भएकी झरनाको उपचारपछि स्वास्थ्यमा सुधार आएर घर फर्कने अवसर मिलेको थियो। तर, स्वास्थ्यमा पुनः समस्या देखिएपछि बिहीबार राति उनलाई फेरि सोही अस्पताल लगियो। तर, यसपटक अस्पतालबाट घर फर्कने पालो झरनाको रहेन।
अस्पतालले उनलाई मृत घोषित ग¥यो। एक वर्षअघि यही दिन एक्लो छोरा रोहितलाई गुमाएका गजेन्द्र–राधाले यस वर्ष त्यही दिन जेठी छोरी झरनालाई पनि गुमाउनुपरेको छ। संयोग पनि कस्तो—गत वर्ष यही दिन छोराको मृत्यु, यस वर्ष यही दिन छोरीको मृत्यु।
रोहितको निधनपछि शोकमा डुबेको जयगढ बजारले एक वर्ष नपुग्दै फेरि उस्तै पीडादायी खबर सुन्नुपरेको छ। गत वर्ष चाडको अघिल्लो दिन रोहितको मृत्युले बजार स्तब्ध बनेको थियो भने यस वर्ष झरनाको निधनले फेरि सबैलाई मौन बनाएको छ। चाडपर्वको उल्लासमा रमाउने तयारीमा रहेको जयगढ बजार फेरि शोकमा डुबेको छ।
गत वर्ष यही दिन रोहितको अन्तिम बिदाइ भएको थियो। यस वर्ष फेरि त्यही दिन झरनाको जीवन यात्रा टुंगिएको छ।एउटै परिवारका दुई सन्तान, एक वर्ष नपुग्दै, उही चाडको अघिल्लो दिन संसारबाट बिदा भएको यो पीडादायी संयोगले साउँद परिवारसँगै सिंगो जयगढलाई स्तब्ध बनाएको छ।






