बाजुरा–जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको प्रवेशलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन सेवाग्राही पास (भिजिटर पास) सेवा सञ्चालनमा ल्याएको छ । प्रहरी सेवालाई थप प्रभावकारी, छिटोछरितो र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयमा आउने सेवाग्राहीका लागि भिजिटर पासको व्यवस्था गरिएको हो ।
दैनिक विभिन्न कामका लागि कार्यालयमा पुग्ने सेवाग्राहीको प्रवेश तथा आवतजावतलाई व्यवस्थित गर्न पास प्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार सेवाग्राही पास सेवाको शुभारम्भ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले सेवाग्राहीलाई पास प्रदान गरेर गर्नुभएको हो ।

डीएसपी बोहराका अनुसार कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले आफ्नो आवश्यक विवरण खुलाएपछि सम्बन्धित शाखा वा कामका आधारमा पास उपलब्ध गराइने व्यवस्था गरिएको छ । “यसअघि कार्यालयमा पुग्ने सेवाग्राहीले कुन कामका लागि कुन शाखामा जाने भन्ने जानकारी लिन यताउता जानुपर्ने र त्यसले केही असहजता हुने तथा अनावश्यक भीडभाडसमेत हुने अवस्था थियो,” उनले भने, “अब गेटमै नागरिक सहायता कक्षबाट सेवाग्राहीको काम र जाने शाखाका आधारमा पास उपलब्ध गराइन्छ । सेवा लिएर फर्किएपछि त्यहीँ पास बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।”
भिजिटर पास सेवाले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको पहिचान गर्न सहज हुनुका साथै कार्यालय परिसरमा हुने अनावश्यक आवतजावत र भीडभाडसमेत कम हुने प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । यसबाट कार्यालयको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
प्रहरी कार्यालयमा उजुरी, निवेदन, मुद्दासम्बन्धी काम, प्रशासनिक सेवा, विभिन्न सिफारिस तथा अन्य प्रहरी सेवाका लागि दैनिक रुपमा सेवाग्राही आउने गरेका छन् । कार्यालयमा आउने सबै सेवाग्राहीलाई सहज, सुरक्षित र सम्मानजनक वातावरणमा सेवा उपलब्ध गराउने उद्देश्यले भिजिटर पास सेवा सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटले बताए । उनका अनुसार सेवाग्राही पास प्रणालीले कार्यालयमा आउने व्यक्तिको विवरण र प्रवेशको उद्देश्य पहिचान गर्न सहज हुनुका साथै सेवाग्राहीलाई सम्बन्धित शाखासम्म पुग्नसमेत सहजीकरण गर्नेछ ।
जिल्ला प्रहरी कार्यालयले नागरिकलाई प्रहरी सेवा सहज, छिटोछरितो र नागरिकमैत्री रूपमा उपलब्ध गराउन विभिन्न सुधारका प्रयास गर्दै आएको जनाएको छ । भिजिटर पास सेवाले एकातिर प्रहरी कार्यालयको सुरक्षा तथा आन्तरिक व्यवस्थापनलाई व्यवस्थित बनाउने र अर्कोतर्फ सेवाग्राहीलाई आवश्यक सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।






