नेकपा एमालेका नेता कर्ण थापाले केन्द्रीय कमिटी बैठकमा २६ पेजको मत राख्दै त्यसमाथि छलफल गर्न माग गरेका छन् । अध्यक्ष ओलीले आफ्नो प्रतिवेदन बैठकमा पेस गरे लगत्तै आसनबाट उठेर नेता थापाले आफ्नो मत पनि समेट्न र छलफल गर्न आग्रह गरेका हुन् ।
जवाफमा ओलीले ह्वाट्स एप वा मेलमा पठाउन भनेका थिए । त्यसपछि थापाले अध्यक्ष र महासचिवको ह्वाट्स एपमा पठाएको तथा पार्टीको आधिकारिक मेलमा समेत पठाएको जानकारी गराएका थिए ।

नेता थापाले ओलीसहित महासचिवलाई पठाएको १० बुँदे मतमा जबजको मार्गदर्शनमा नेपाली विशेषताको समाजवादबारे, वामपन्थी एकता र एकीकरण, दशौँ र एघारौँ महाधिवेशनबिचमा देखिएका समस्या, पार्टी जीवनका प्रमुख समस्या समेटिएको छ ।
थापाले सहज ढङ्गले नेतृत्व हस्तान्तरणमा जोड दिँदै नेतृत्व स्थापित गर्न प्रमुख पदमा लगातार दुई कार्यकाल र ७० वर्षे उमेर हदको व्यवस्थालाई कायम राख्नुपर्ने आफ्नो मत राखेका छन् ।
‘नेतृत्वको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न, सहज ढङ्गले नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउन र वैकल्पिक नेतृत्व स्थापित गर्न पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने र ७० वर्ष उमेर हदको व्यवस्थालाई कायम राख्नु पर्दछ’, थापाले भनेका छन्, ‘यस्तो व्यवस्थाले नेतृत्वको सहज हस्तान्तरणलाई प्रत्याभूति गर्नेछ, नेतृत्व परिवर्तनको असहज, गुटगत र षड्यन्त्रमूलक प्रवृत्तिलाई निरुत्साहित गर्नेछ र नयाँ नेतृत्वको विकासको लागि अनुकूल वातावरण निर्माण गर्नेछ ।’
त्यस्तै, उनले पार्टीको सर्वोच्च निकाय महाधिवेशन भएको भन्दै दुई महाधिवेशनका बिचमा पार्टी केन्द्रीय कमिटी नै सर्वोच्च निकाय हुने भएकाले पार्टी केन्द्रीय कमिटीलाई पनि नियन्त्रण र सन्तुलनको विधिबाट अगाडि बढाउनु पर्ने सुझाव राखेका छन् ।
‘तर दुई महाधिवेशनको बिचमा केन्द्रीय कमिटीका कामहरूको अनुगमन गर्ने निकायको अभावमा त्यसलाई सामयिक ढङ्गले दिशा निर्देश गर्ने या महत्त्वपूर्ण सुझावहरू दिने काम हुन सकेको छैन’, थापाले भनेका छन्, ‘पार्टी केन्द्रीय कमिटीलाई समय–समयमा त्यसका कामहरूको अनुगमन, मूल्याङ्कन र दिशा निर्देश गर्ने तथा आवश्यक सुझाव दिने संयन्त्रको विकास गर्नु जरुरी देखिएको छ ।’
विगतमा यो काम राष्ट्रिय परिषद्को बैठकबाट हुने गरेको स्मरण पनि गराएका छन् । ‘पछि राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले गर्ने तय भएको छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्लाई परिस्थिति हेरेर दुई महाधिवेशन बिचमा नीति र नेतृत्व बदल्न सक्ने स्तरको अधिकार दिएर प्रभावकारी वैधानिक व्यवस्था गरिनुपर्दछ’, थापाको भनाइ छ ।
पूर्णपाठ :






