एजेन्सी । संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले भारतमा जारी विरोध प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।
दिल्लीमा शनिबार भएको बृहत प्रदर्शनको क्रममा र त्यस भन्दा अघि पक्राउ परेका नेता, नागरिक समाजका सदस्य, वकिल लगायतका विषयमा चिन्ता व्यक्त गर्दै यूएनएचसीआरले तत्काल र बिना शर्त रिहा गर्न आग्रह गरेको हाे। कक्राेच जनता पार्टी (सीजेपी)का नेता अभिजित दिपकेलाई प्रहरीले दिल्ली विमानस्थलमा जहाजभित्रै पसेर पक्राउ गरेको थियो । जसमा सीजेपीकै नेताहरु सौरभ दास र आशुतोष राङ्कासहित अन्य केही नेताहरु पनि पक्राउ परेका छन् ।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै सीजेपीको नेतृत्वमा जन्तरमन्तरतर्फ अघि बढ्नेक्रममा एक हजार ५ सय भन्दा बढीको संख्यामा युवा प्रदर्शनकारी पक्राउ परेका दिल्लीको प्रहरी स्रोतलाई उद्धृत गरी बीबीसीले जनाएको हाे । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा नआएसम्म प्रदर्शनलाई निरन्तरता दिने सीजेपीले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो सङ्ख्यामा मतदाताहरू हटाइएको आरोप छ । तर भारतको निर्वाचन आयोगले आरोप अस्वीकार गर्दै आएको छ । त्यस्तै, भारतीय लोकसभामा विपक्षी दलको तर्फबाट नेता राहुल गान्धीले प्रदर्शनप्रति आफ्नो ऐक्यवद्धता रहेको बताउनुभयाे । उहाँले संविधानको रक्षा तथा भारतीय नागरिकको आवाजको सुरक्षाका लागि आफ्नो संघर्ष निरन्तर रूपमा जारी रहने बताउनुभएको छ






