काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनिलकुमार शर्माले निर्वाचनमा पराजित भएता पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहने बताउनुभएकाे छ।
नेता शर्माले साेमबार सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे। उहाँले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा चुनावी अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयाे। उहाँले निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको संकल्प कमजोर नबनाएको समेत उल्लेख गर्नुभएकाे छ।

उहाँले भन्नुभयाे,- ‘पदमा रहेर वा नरहेर, पार्टी र देशका दूरदराजमा बसोबास गर्ने आम नागरिकको सेवामा समर्पित थिएँ र रहनेछु।’ नेता शर्माले कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने आफ्नो प्रतिबद्धता यथावत् रहेको उल्लेख गर्नुभयाे। उहाँले पार्टीभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कार स्थापनाका लागि निरन्तर प्रयास गर्ने समेत बताउनुभएकाे छ।
नेता शर्माले लोकतान्त्रिक पद्धतिलाई जीवन्त राख्न प्रतिस्पर्धामा उत्रिएका सबै नेता, निर्वाचित पदाधिकारी तथा पार्टीका कार्यकर्तासँग सहकार्य गर्दै पार्टी र जनताको हितमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे।






