काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएकाे छ।
नेता महरले साेमबार सामाजिक सञ्जालमार्फत यस्ताे शुभकामना व्यक्त गर्नुभएकाे हाे । साथै, आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति उनले हार्दिक आभार व्यक्त गर्नुभएकाे छ। नेता महरले कांग्रेस परिवर्तनको संकल्प कुनै पद वा निर्वाचनको परिणाममा सीमित नरहेको स्पष्ट पार्दै पार्टीको पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनका लागि आफ्नो यात्रा निरन्तर अघि बढ्ने बताउनुभयाे।

उहाँले भन्नुभयाे,- ‘कांग्रेस बदल्ने हुटहुटी साकार होस् र परिवर्तनको संकल्पले सार्थकता पाओस् । पार्टीलाई नयाँ सोच, असल राजनीतिक संस्कार, जिम्मेवार व्यवहार र परिणाममुखी कार्यशैलीसहित अघि बढाउने सवालमा हामी सँगै रहनेछौं ।’ नेता महरले महाधिवेशनका क्रममा प्राप्त विश्वास, माया र सद्भावलाई आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण ऊर्जा र जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्नुभयाे।
उहाँले राजनीतिक प्रतिस्पर्धा लोकतान्त्रिक यात्राको एउटा चरण मात्रै भएकाे बताउनुभउकाे छ। विचार, मूल्य, निष्ठा र परिवर्तनप्रतिको प्रतिबद्धता नै राजनीतिक यात्राका स्थायी आधार भएकाे बताउनुभयाे। नेता महरले समाज परिवर्तनका लागि राजनीति बदलिनुपर्ने, राजनीति बदल्न राजनीतिक संस्कार बदलिनुपर्ने र राजनीतिक संस्कार बदल्न नेतृत्वको चाल, चरित्र र चेहरामा सकारात्मक परिवर्तन आउनुपर्ने धारणा अघि सार्नुभएकाे छ।
नेता महरले नेपाली कांग्रेसलाई समयानुकूल, विचारप्रधान, जनताप्रति उत्तरदायी र परिणाममुखी पार्टी बनाउने अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे। पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संस्थागत सुदृढीकरण, आपसी सहकार्य र सकारात्मक परिवर्तनका पक्षमा आफ्नो भूमिका अझ जिम्मेवार ढंगले अघि बढ्ने उहाँको भनाइ छ ।






