काठमाडाैं । काठमाडाैं उपत्यकाका विभिन्न ठाउँमा तोकिएका ग्यास बिक्री केन्द्रहरूमा उपभोक्ताको अत्याधिक भीड लागेको छ।
दशैंकाे समयमा सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा जुनसुकै कम्पनीका सिलिन्डर पनि साट्न पाइने गरी स्थापना गरेका केन्द्रमा उपभोक्ताको भीड लागेको हो । यसैबीच ग्यास सिलिन्डर साट्नेहरूको भीड लागेपछि संघले ६ वटा बिक्री केन्द्रलाई बढाएर आजदेखि ११ वटा पुर्याएको छ ।

संघका अनुसार थपिएका नयाँ वितरण केन्द्रहरूमा बूढानीलकण्ठको चपलीमा भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलङ्कीमा गीता ग्यास र खसीबजारको आरके ट्रेडर्समा सीताश्री ग्यास र सतुङ्गलमा श्रीमाया ग्यास उपलब्ध रहेकाे हाे ।
यसअघि ललितपुरको हरिसिद्धिमा श्रीराम, कलङ्कीमा साइबाबा, श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास साटफेर भइरहेको छ । त्यसैगरी बालाजु औद्योगिक क्षेत्र गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी, त्रिवेणी ग्यास, पेप्सीकोलामा सगर ग्यास, सिफलचौरमा एभरेस्ट र सुगम ग्यास उपलब्ध रहेकाे हाे।
संघले तोकिएका यी ११ वटा केन्द्र बाहेक अन्य खुद्रा पसल वा ठाउँबाट भने फरक कम्पनीको सिलिन्डर साट्न नमिल्ने जनाएको छ ।






