काठमाडाैं । बूढीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण उत्तरी गोरखाका करिब ५ हजार घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन् ।
बाढीले सिर्दिबास–उहिया लघु जलविद्युत आयोजनामा क्षति पुर्याएपछि चुमनुब्री गाउँपालिकाका विभिन्न १६ वटा गाउँका ९ सय ७१ घरधुरी अन्धकार बनेका हुन् । बाढीले विद्युतका पोल, टावर र तारहरू बगाएको छ ।

त्यसैगरी विद्युत प्राधिकरणको आरुघाटमा रहेको वितरण केन्द्रमा बाढीले क्षति पुर्याउँदा धार्चे गाउँपालिकाका ७ वटै वडाका करिब चार हजार घरधुरी र आरुघाट गाउँपालिकाका ५० घरधुरीमा समेत बिजुली ठप्प भएको हाे। विद्युत, इन्टरनेट र सडक सम्पर्क टुटेका कारण गाउँपालिकाका प्रशासनिक कामकाज ठप्प हुनुका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ ।
बाढीले बाटो र पुलहरू समेत बगाएकाले एक गाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीयबासीले बताएका हुन् ।






