काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मुख्य चाडपर्वकाे समयमा बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भैरहेको जनाएको छ।
विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको दावी गरेको हाे । वाणिज्य विभागका महानिर्देशक रितेशकुमार शाक्यले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिइएको बताउनुभयो । उहाँले काठमाडाैं उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट ५० जना थप कर्मचारी परिचालन गरिएको बताउनुभएकाे छ।

महानिर्देशक शाक्यले बजार अनुगमनका लागि वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, पालिका तथा प्रदेशका सम्बन्धित निकाय समेत परिचालन भएकाे बताउनुभयाे। उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनीको मौज्दात बारेमा जानकारी लिइएको हाे। मासुजन्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आएपछि विभागले पशु सेवा विभागसँग समन्वय गरेर अनुगमन गरिरहेको जनाएको छ । महानिर्देशक शाक्यले उपभोक्ता आफैं पनि सचेत हुनुपर्नेमा जाेड दिनुभयाे।
महानिर्देशक शाक्यले बजारमा ठगी, कृत्रिम अभाव वा अन्य समस्या देखिएमा विभागको हटलाइन, सूचना अधिकारी, सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’मार्फत उजुरी गर्न सकिने बताउनुभभएकाे छ। विभागले उजुरीका आधारमा तत्काल अनुगमन गर्न पनि टोली परिचालन गर्दै आएको हाे ।






