काठमाडाैं । विराटनगरमा मंगलबारदेखि शुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले संविधानप्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन् ।
साेही सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभउकाे हाे। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शीर्ष नेतृत्व नै संघीयताप्रति इमानदार नदेखिएको आरोप लगाउनुभयो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधानअनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताउनुभएकाे छ।

त्यस्तै, मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सफल नहुने बताउनुभयो। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यावहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको उल्लेख गर्नुभएकाे छ। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले अधिकार अभावले कर्णालीका चुनौती थप जटिल बनेको गुनासो गर्नुभयो।
बजेट पारित गर्ने समस्या झेलिरहेका कारण सुदुरपश्चिमका मुख्यमन्त्री भने बैठकमा सहभागी बन्नुभएन । बुधबारसम्म चल्ने सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी अधिकार प्राप्तिका लागि साझा धारणा बनाउने तयारी गरेकाे छ ।






