काठमाडौं । अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका पाकिस्तानलाई पराजित गर्दै विजयी भएको छ।
रावलपिण्डीमा मंगलबार राति भएको खेलमा कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङको मद्दतमा श्रीलंकाले पाकिस्तानलाई ८ विकेटको पराजित गर्दै सान्त्वना जित हात पारेको हो । पाकिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य श्रीलंकाले १७ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । श्रीलंकाका लागि कुशलले ४८ बलमा सात चौका र चार छक्कासहित अविजित ८७ रन बनाएका थिए।

त्यस्तै, कामिन्दु मेन्डिसले २७ बलमा अविजित ४० र सिनेत जयवर्धनेले २६ बलमा ३८ रन जोडेका हुन्। त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६८ रन बनाएको थियो । पाकिस्तानका साहिबजादा फरहानले सर्वाधिक ७६ रन बनाएका छन् । उनले ४७ बलमा सात चौका र तीन छक्का प्रहार गरेका हुन् ।
श्रीलङ्काका दासुन शनाकाले तीन विकेट लिएका थिए । यो जितसँगै श्रीलंकाले तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेल जित्दै सान्त्वना जित प्राप्त गरेको छ । पाकिस्तानले यस अघि नै २ खेल जितेर शृङ्खला आफ्नो पक्षमा पारेको हो।






