काठमडाैं । वर्षासँगै आएकाे बाढी तथा पहिरोका कारण प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्ति नियमित गरिएको छ।
यहि असोज ८ देखि ११ गतेसम्मको ठूलो वर्षाले कालीगण्डकी नदीमा बाढी आउँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको चार वटा टावर ढलाएपछि लाइन चुँडाएकाले मुस्ताङ र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द थियो ।

अन्नपूर्ण गाउँपालिका–२, ३, ४ र ५ तथा मुस्ताङ जिल्लाभरी कार्यक्षेत्र रहेको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रले प्रसारण लाइनको समस्याले तत्काल दाना सब स्टेसनबाट विद्युत आपूर्ति गराउन सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको जनाएकाे छ।
मुस्ताङमा यसअघि नै आपूर्ति नियमित भएको र म्याग्दीमा केही घर बाहेक सबै ठाउँमा मर्मत कार्य सकिएको केन्द्रले जानकारी दिएकाे हाे । विद्युत आपूर्तिसँगै अवरुद्ध सञ्चार सेवा पनि सञ्चालनमा आएको छ। साथै म्याग्दीका ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, १ सय १० मेगावाटको नीलगिरि, ६ मेगावाटको रेलेखोला र १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना भने बन्द रहेका हुन् ।






