काठमाडाैं । यहि असाेज २५ गते आइतबार बुढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखा र धादिङ जोड्ने आरुघाटको मुख्य मोटरेबल पक्की पुल बगाएपछि यातायात अवरुद्ध भएकाे छ ।
सरकारले साेही क्षेत्रमा यातायात सञ्चालन गर्न काम अघि बढाएको हाे । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पक्की पुल बगाएपछि तत्काल अस्थायी बेलिब्रिज निर्माणका लागि ७ ट्रक आवश्यक निर्माण सामग्री मंगलबार निर्माणस्थल पुर्याइएको जनाएकाे छ ।

बुढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिका–९, नयाँ पुलमा गोरखा र धादिङ जोड्ने आरुघाटको पक्की पुल बगाउँदा पुलको तीन खण्डमध्ये गोरखातिरको एउटा खण्ड बगाएको थियो । सडक डिभिजन कार्यालय हेटौंडाबाट पठाइएका निर्माण सामग्री गोरखा बजार हुँदै आरुघाट पुर्याइएको छ ।
आइतबार बिहान उत्तरी गोरखाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढीले पुलको गोरखातर्फको २२ मिटर ‘आरसीसी’ भाग बगाएपछि दुई जिल्लाबिच सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । दशैंको टीकाअघि अर्थात् अबको एक हप्ताभित्र बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम थालिएको छ।
बुधबारदेखि पुलको जग खन्ने र ढलानको काम शुरु हुँदैछ । पुल जडानको काम नेपाली सेनाको प्राविधिक टोलीबाट हुने भएकाे हाे । पुलको ६० मिटर लामो ट्रस संरचना सुरक्षित रहेकाले त्यसमा थप भाग जोडेर बेलिब्रिज सञ्चालन गर्न लागिएको छ।
सडकखण्ड ठप्प हुँदा गोरखाका आरुघाट, धार्चे तथा चुमनुब्री गाउँपालिका र धादिङको सल्यानटार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका हुन् ।






