काठमाडौं । बडा दशैं मनाउन काठमाडौं उपत्यकाबाट मानिस बाहिरिनेको संख्या करिब २ लाख पुगेको छ।
काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटस्थापना यता मंगलबारसम्म एक लाख ८८ हजार जनाले उपत्यका छोडेकाे जनाएको हो।कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबारसम्म २७ हजार ७ सय वटा गाडीबाट एक लाख ८८ हजार जना उपत्यकाबाट बाहिरिएका छन् ।

उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्दै गएको हाे । साथै २४ हजार ६ सय गाडीबाट १ लाख ६० हजार यात्रु उपत्यका भित्रिएका छन् । दशैंकाे टीका नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको हो ।
ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडा लगायतका नाकाबाट यात्रु बाहिरिने क्रम बढेको जनाएकाे छ ।






