काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाको कार्यक्षमतामाथि प्रश्न उठाउनुभएकाे छ।
संसदीय सुनुवाइका क्रममा सांसद चौलागाईंले उहाँको कूटनीतिक अनुभव, विगतको कार्यसम्पादन र प्रस्तावित नियुक्तिमाथि प्रश्न उठाउनुभएकाे हाे। सांसद चौलागाईंले झाको प्राज्ञिक पृष्ठभूमि र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यकाललाई लिएर असन्तुष्टि व्यक्त गर्दै कूटनीतिक क्षमतामाथि प्रश्न खडा गर्नुभयाे ।

सांसद चौलागाईंले प्रस्तावित राजदूत झाको बुद्ध सर्किट र नेपाल–श्रीलंकाबीचको कूटनीतिक सम्बन्ध विस्तारको योजनाकाे बारेमा स्पष्ट जवाफ माग गर्नुभएकाे छ । उहाँले झाको कार्यक्षेत्र मिथिला संस्कृतिमा मात्रै सीमित रहेको भन्दै समग्र बुद्ध कला र नेपालका अन्य महत्त्वपूर्ण धार्मिक क्षेत्रहरूलाई समेट्न नसकेको आरोप लगाउनुभयाे ।
कूटनीतिक अनुभवको अभावलाई मुख्य चुनौतीका रूपमा औंल्याउँदै सांसद चौलागाईंले भारत र चीनको प्रभाव रहेको श्रीलंका जस्तो संवेदनशील मुलुकमा कसरी राष्ट्रिय हित रक्षा गर्न सकिन्छ भनेर प्रश्न गर्नुभएकाे छ। राजदूत नियुक्ति सम्बन्धी निर्देशिकाको मापदण्ड र समावेशिताको नाममा गरिएका नियुक्तिको औचित्यमाथि समेत उहाँले प्रश्न गर्नुभयाे ।
यसका साथै, सन् २०१५ देखि २०१९ सम्म सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहँदा झाले द्वन्द्वपीडितहरूलाई न्याय दिन नसकेको सांसद चौलागाईंले बताउनुभएकाे छ । मुद्दाहरू अलपत्र पारेको भन्दै सांसद चौलागाईंले झाको कार्यसम्पादनमाथि टिप्पणी गर्नुभयाे । विगतमा द्वन्द्व व्यवस्थापनमा असफल देखिएको व्यक्तिले संवेदनशील संवैधानिक वा कूटनीतिक निकायमा कसरी अपेक्षित परिणाम दिन सक्छ भन्दै उहाँले प्रश्न गर्नुभएकाे छ।
सार्क र बिमस्टेकको मञ्च प्रयोग गरेर क्षेत्रीय हित प्रवर्द्धन गर्ने तथा लुम्बिनी–श्रीलंकाबीचको धार्मिक पर्यटन र हवाई उडानलाई अगाडि बढाउने ठोस कार्ययोजना पेश गर्न सांसद चौलागाईंले झालाई चुनौती समेत दिनुभयाे।






