काठमाडाैं । चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजले भारतलाई २४ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ।
हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बुधबार राति भएकाे खेलमा वेस्ट इन्डिजले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको भारत १९ ओभर ३ बलमा २ सय २३ रनमा समेटिएकाे हाे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ४७ रन बनाएको थियो ।

वेस्ट इन्डिजका कप्तान शाई होपले आक्रामक ब्याटिङ गर्दै ५० बलमा अविजित १०२ रन बनाएका थिए । उनले नौ छक्का र चार चौका प्रहार गरेका छन् । शेरफेन रदरफोर्डले पनि २६ बलमा अविजित ४९ रन जोडेका हुन् ।
त्यस्तै, शिमरोन हेटमायरले १२ बलमा ३३ तथा रोभमन पावेलले १७ बलमा २४ रन बनाए । भारतका प्रिन्स यादवले एक विकेट लिएका थिए । २४८ रनको लक्ष्य पछ्याएको भारतका सञ्जु सामसनले २३ बलमा चार छक्का र छ चौकासहित ५६ रन बनाएका छन् । भारतका तिलक वर्माले २५ बलमा ४३ तथा नितिश कुमार रेड्डीले २० बलमा ४१ रन बनाएका थिए ।
वेस्ट इन्डिजका केमो पलले पाँच तथा गुडाकेश मोतीले दुई विकेट लिएका हुन् । शतक बनाएका शाई होप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजका लागि तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै, केमो पलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दोस्रो पाँच विकेटको उपलब्धि हासिल गरेका हुन् । वेस्ट इन्डिजले भारतसँगको चौथो खेल जित्दै शृङ्खला बराबरीमा पुर्याएको छ ।
अब दुवै टोलीबीचको पाँचौं तथा निर्णायक खेलले शृङ्खलाको विजेता टुङ्गो लाग्ने भएकाे हाे । पाँचौ खेल शनिबार बैङ्गलुरुको एम.चिन्नास्वामी स्टेडियममा हुने भएकाे छ ।






