काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा आदिवासी जनजाति (खुला) क्लस्टरतर्फको केन्द्रीय सदस्यमा काभ्रे जिल्ला सभापति तीर्थ लामा अत्याधिक मतका साथ विजयी हुनुभएकाे छ।
कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार लामा ४ हजार ८ सय ५३ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीहरूबीच निकै फराकिलो मतान्तरले केन्द्रीय सदस्यमा विजयी हुनुभएकाे हाे। आदिवासी जनजाति (खुला) तर्फका १२ जना केन्द्रीय सदस्यका लागि ४१ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।


२०६४ सालमा नेपाली कांग्रेसको क्षेत्रीय उपसभापतिको रूपमा सांगठनिक जिम्मेवारी सम्हालेका लामा १२ औं र १३ औं महाधिवेशनमा लगातार दुई कार्यकाल क्षेत्रीय सभापतिको भूमिका निर्वाह गर्नुभएकाे थियाे। २०६८ देखि २०७१ सालसम्म नेपाल तामाङ संघको केन्द्रीय सदस्य समेत बन्नुभएकाे थियाे। पार्टीको १४ औं महाधिवेशनबाट कांग्रेस काभ्रेपलाञ्चोकको सभापति निर्वाचित हुनुभएकाे थियाे।
२०७० सालको संविधान सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित भई लामाले संविधान सभा सदस्यको रूपमा योगदान पुर्याउनुभएकाे छ। संविधान सभा सदस्य रहँदा उहाँले कांग्रेस संसदीय दल कार्यसमिति सदस्य तथा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्यका रूपमा काम गर्नुभएकाे थियाे ।
लामा २०७९ को प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभयाे।






