काठमाडाैं। बाढीका कारण धादिङ र गोरखाबीचको मुख्य सडक सम्पर्क अवरुद्ध भएको चार दिन बितिसकेको छ।
चार दिनभित्रै बेलिब्रिज जडान गरी गाडी सञ्चालन गर्ने भनिए पनि काम शुरु हुन भने अझै नसकेको हाे। हाल सडकको ‘बेस सर्फेस’ मिलाउने र बेलिब्रिजका लागि पेटी बनाउने काम भइरहेको छ । प्राविधिकहरूका अनुसार पेटी तयार भएपछि मात्रै बेलिब्रिज जडान शुरु हुने भएकाे हाे ।

बेलिब्रिजका आवश्यक सामग्री कार्यस्थलमा आइपुगिसकेका छन् । तर, अहिलेकै गतिमा काम भए दशैंको टीका अघि गाडी संचालन हुने सम्भावना न्यून रहेकाे छ ।
आरुघाट र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने पक्की पुलको गोरखातर्फको भाग तथा आरुघाट-२/३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बाढीले बगाएपछि यो मार्ग अवरुद्ध भएको हो ।






