काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने भएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बिहीबार रातिसम्मसम्म सबै पदको मतपरिणाम आइसक्ने कांग्रेस मिडिया सेन्टरलाई जानकारी दिनुभएकाे हाे। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति र महामन्त्रीसम्मको मतगणना सम्पन्न भइसकेको छ ।सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको भने विभिन्न समूहको सकिँदा अन्य समूहको मतगणना धमाधम भइरहेको हाे ।

निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणाम समेत बिहीबारै सार्वजनिक गर्ने तयारी गरेको छ । सभापतिमा गगन थापा निर्वाचित हुनुभएकाे छ । कूल खसेको ७ हजार १३ मतमध्ये ५४ मत बदर भएकामा थापाले ९४ दशमलव ६ प्रतिशत अर्थात ६ हजार ५८४ मत प्राप्त गर्नुभयाे। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने ५ दशमलव ४ प्रतिशत अर्थात् ३७५ मतमात्र प्राप्त गर्नुभएकाे छ।
त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलामा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका हुन् । उपसभापति खुलामा डा. चन्द्रकान्त भण्डारी ५३ दशमलव १ प्रतिशत मतसहित र ई. मधु आचार्य ३३ दशमलव मतसहित निर्वाचित भएका छन् । समावेशी उपसभापतिमा विनोदकुमार चौधरी २४ दशमलव ८ प्रतिशत मतसहित निर्वाचित हुनुभयाे।
महामन्त्री खुलामा प्रदीप पौडेल ५९ दशमलव ६ प्रतिशत र उदयशमशेर राणा ३२ दशमलव ८ प्रतिशत मतसहित निर्वाचित भएका छन् ।महामन्त्री महिलामा डिला संग्रौला ४४ दशमलव ३ प्रतिशत मतसहित निर्वाचित हुनुभयाे। सहमहामन्त्रीका विभिन्न समूहमध्ये खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।
सहमहामन्त्री महिलामा प्रतिमा गौतम निर्वाचित हुनुभयाे। आदिवासी जनजातितर्फ बहादुर सिंह लामा निर्वाचित हुनुभएकाे छ। पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित हुनुभयाे। विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम पनि सार्वजनिक भइसकेको छ । केही क्लस्टरका महामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना जारी रहेकाे हाे। केहीको परिणाम आउने क्रममा रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना अघि बढाइरहेको जनाएकाे हाे। बाँकी समूहको गणना सम्पन्न गरी आज बेलुकासम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने लक्ष्य समितिले राखेको छ।
यहि असोज १८ गतेदेखि शुरू भएको महाधिवेशनको २३ गते मतदान भएको थियो । सभापतिको मत परिणाम २४ गते बिहानै आएको भए पनि अन्य पदको गणना द्रुत गतिमा हुन नसक्दा केही ढिलाइ भएको हो ।






