काठमाडाैं। चालू आर्थिक वर्ष २०८३/८४ को २ महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति ४ दशमलव ३ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गएको असार मसान्तसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको हाे। अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति ४ दशमलव ६ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड पुगेको छ । गत असार समान्तसम्म विदेशी मुद्रा सञ्चिति २५ अर्ब ३१ करोड थियो ।

त्यस्तै, दुई महिनामा चालू खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा चालू खाता १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँले बचतमा रहेको थियो । त्यस्तै, दुई महिनामा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको यहि अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा थियो ।
त्यसैगरी गत भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशत रहेको छ । गत वर्षको भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिीति १ दशमलव ८७ प्रतिशत रहेको थियो ।






