काठमाडाैं । बुढीगण्डकी नदीमा आएको बाढीका कारण ५ दिनदेखि अवरुद्ध गोरखाको धार्चे गाउँपालिका-२ केरौंजा र रुन्चेत जाने बाटो आंशिक रूपमा खुलेको छ।
बाटो खुलेसँगै रोकिएका स्थानीय बासिन्दा गन्तव्यतर्फ जान थालेका हुन् । तर, बाटोमा अझै सहज आवतजावत हुन नसक्दा खाद्यान्न ढुवानीमा समस्या भएको छ। साेही गाउँपालिकाको आह्वानमा पालिकाले लगातार तीन दिन श्रमदान गरेपछि पैदल हिँड्न मिल्ने गरी बाटो खुलाइएको हो।

बुढीगण्डकीमा आएको बाढीले खानीबेँसी, माछाखोला, खोर्लाबेँसी र दोभानका झोलुङ्गे पुल तथा बेलिब्रिज बगाएपछि त्यस क्षेत्रको आवतजावत अवरुद्ध भएको थियो । गत मंगलबारदेखि स्थानीयबासीले बाढीले थुपारेको लेदो हटाउने, मुढा तेस्राउने र भर्याङ राख्ने काम गरेर बाटो आंशिक रूपमा सञ्चालनमा ल्याएका हुन् ।
बाटो खुलेपछि रोकिएर बसेका करिब १ सय जना भर्याङ र डोरीको सहायताले गाउँ पुगेका छन् । बाटोमा मानिस जसोतसो हिँड्न मिल्ने भए पनि भारी बोक्न र खच्चड चलाउन सक्ने अवस्था छैन । जसले गर्दा केरौंजा, केरौंजाबेंसी, लामाबेंसी र रुन्चेतका करिब ६ सय परिवारमा खाद्यान्न समेत अभाव हुने जोखिम बढेको छ।






