काठमाडाैं। बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात आश्विन शुक्ल सप्तमीका अवसरमा शनिबार देशैभर विधिपूर्वक फूलपाती भित्र्याइँदैछ ।
घटस्थापनादेखि दुर्गा स्थापना गरिएको दशैंघर तथा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष गरी नौ प्रकारका वनस्पति (नवपत्रिका) भित्र्याउने धार्मिक परम्परा रहेकाे हाे। धार्मिक मान्यता अनुसार यी नौ वनस्पति नवदुर्गाका सहायक देवीहरूका प्रतिक हुन् ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी शास्त्रीय विधिपूर्वक शक्तिको आराधना गरिन्छ । यसैबीच, ऐतिहासिक हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइँदैछ ।
गोरखाबाट धादिङको जीवनपुरसम्म मगर समुदायका पुजारीहरूले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म ब्राह्मणहरूले बोकेर ल्याउने परम्परा रहिआएको छ। जमलबाट भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गुर्जुको पल्टन, निजामती सेवाका उच्च अधिकारी तथा साँस्कृतिक बाजागाजा र लावालस्करसहित भव्य शोभायात्राका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याइन्छ ।
नवरात्रमा देशैभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।






